Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन र सुधनमाथि कारबाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी

बालेन र सुधनमाथि कारबाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।

जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बालेनले विगतमा पनि सिंहदरबार जलाउने धम्की दिएको स्मरण गरे।

उनले भने–‘सिंहदरबार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुधन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ।’

जेनजी पुस्ताको आन्दोलन घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने गरी मेयर शाहलगायतले टिप्पणी गरेकोले छानबिन आवश्यक परेको नेविसंघको भनाइ छ।

उनले अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग पनि गरे। पत्रकार सम्ममेलनमा उनले २०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारे।

पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ। उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताए।

नेविससंघले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएको छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्छ।

असोज २५ मा बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले फागुन २१ को चुनावअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गरेको हो।

‘वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ, यस सन्दर्भमा पार्टीभित्र जारी रूपान्तरणको आन्तरिक बहसलाई संघले सकारात्मक लिएको छ, तसर्थ निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले निर्वाचन अगावै नियमित महाधिवेशन सम्पन्न गरी निर्वाचनमा भाग लिनु उपयुक्त हुने विषय मातृ पार्टीलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरियो’–अध्यक्ष दुजाङ शेर्पाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077