Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कास्की कारागारबाट भागेका ८१ जना कैदी पक्राउ

कास्की कारागारबाट भागेका ८१ जना कैदी पक्राउ

बिहिवार , आश्विन ३०, २०८२

कास्की । भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो।

उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनले भने- 'गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ। तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास सुरु गरिएको हो।'

पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन्। चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ।

जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिए। कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो।

तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो। उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077