कास्की । पोखरा–२२ स्थित अनदु जंगलमा जर्मन नागरिकलाई खुकुरी देखाएर डराउने प्रयास गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की प्रहरीले शनिबार बिहान १० बजे माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नवीन विक र तनहुँको व्यास–५ का २१ वर्षीय विशाल दर्लामीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले ६७ वर्षीय जर्मन नागरिक एन्स पिटर मार्टिनलाई जंगल हुँदै एक्लै हिँडिरहेका बेला खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेका थिए। घटना भएको जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले दुवैलाई घटनास्थलमै नियन्त्रणमा लिएको थियो।
घटनास्थलबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ।