काठमाडौं । राजधानीको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङ नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्।
प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूको स्वयम्भूस्थित भाडाको कोठाबाट रु ६९ लाख ८५ हजार नगद र केही सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
डीआईजी कार्कीका अनुसार बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको हो ।
उनीहरूका सम्पूर्ण आर्थिक गतिविधिबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।