काठमाडौं । काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलका गोलीसहित दुई किशोर पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट लुटिएका ती गोली फेला पार्ने क्रममा प्रहरीले बर्दिया र झापाका दुई किशोरलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर रहेका छन्।
प्रहरीका अनुसार, गिरीलाई नरेफाँट क्षेत्रबाट पक्राउ गरी सोधपुछ गर्दा उनले भदौ २४ गते दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको पेस्तोलका ३ थान गोली लाजिम्पाटमा लुकाएर राखेको स्वीकार गरेका थिए । सोही आधारमा उनको डेराबाट ‘३११–२३’ लेखिएको पेस्तोलका ३ थान गोली बरामद गरिएको हो।
गिरीको बयानका आधारमा प्रहरीले थापा मगरको काठमाडौँ महानगरपालिका–२६, मालिगाउँ आनन्द भैरव मार्गस्थित डेरा कोठामा खानतलासी गर्दा त्यही सिरियल नम्बरका २ थान गोली र छालाको पेटी बेल्टको बक्कल फेला पारेको जनाएको छ।
दुवै जनालाई जरुरी पक्राउ पुर्जी जारी गरी थप अनुसन्धान र कानूनी कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको छ ।
प्रहरीले यस घटनासँग सम्बन्धित अन्य व्यक्तिहरुको पनि खोजी जारी राखेको छ।