काठमाडौं । दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्री बनाउने तयारी गरेको छ । स्रोतका अनुसार उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने निश्चितजस्तै बनेका छन् ।
दैलेखको नारायण नगरपालिका–५ छातीकोटमा २०४७ जेठ २ गते जन्मिएका सुनार पछिल्लो समय काठमाडौंमा दलित अधिकारका अभियानमार्फत चर्चामा आएका छन् । उनले शरीरभरि नेल गाडी 'दलितलाई खै ?' शीर्षकमा अभियान सञ्चालन गरेर देशभर ध्यान आकर्षित गरेका थिए।
दलित समुदायका हकहितका सवालमा आवाज उठाउँदै आएका सुनार पछिल्ला महिनाहरूमा सामाजिक सञ्जालमा सक्रिय रहेका छन्। तर, उनी हाल केही विवादमा पनि तानिएका छन् ।
केही महिना अगाडी उनले फेसबुकमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर आरोप लगाएका थिए ।
सुनारले सामाजिक तथा जातीय सद्भावलाई खल्बल्याउने उद्देश्यसहित बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए।
तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई असत्य ठहर गरेको थियो । ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको प्रहरीले जनाएको थियो । मृतक परिवारले भोलिपल्टै शव बुझिसकेका थिए ।
सोही प्रकरणमा मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप लगाएर चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए ।
[insert page='363460' display='yopanipadhnuhos.php']
उक्त उजुरी आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको छ । सुनारमाथि साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । उनै विवादित सुनारलाई मन्त्री बनाउने तयारी भएको स्रोत बताउँछ ।
त्यतिबेला यस घटनाबारे मन्त्री पालको सचिवालयले विज्ञप्ति जारी गर्दै सुनारको आरोपलाई “कपोकल्पित र बदनाम गर्ने उद्देश्यपूर्ण गतिविधि” भन्दै खण्डन गरेको थियो ।
त्यस्तै, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पनि विज्ञप्ति जारी गर्दै 'तथ्यहीन आरोप लगाएर मन्त्रीको बदनाम गर्ने कार्य अस्वीकार्य' भन्दै सुनारलाई कानूनी कारबाहीको माग गरेको थियो ।
सुनार बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा प्रहरी हिरासत बसेको समेत खुलेको छ ।