काठमाडौं । उपत्यकाका विभिन्न स्थानहरूमा सुनका सिक्री चोरी र लुटपाटमा संलग्न समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले विशेष अनुसन्धानपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीका राज लामा, उदयपुरका दुर्ग बहादुर मगर (विशाल), रामेछापका दिल बहादुर बिक, बागलुङका गोबिन्द सुनार, र कैलालीका दिपेस रसाइली छन् । प्रहरीले उनीहरूलाई सिक्री लुटपाट र त्यसको बिक्री–किनबेचमा संलग्न देखिएको जनाएको छ ।
उनीहरूले गत असोजदेखि काठमाडौँ र ललितपुरका सातवटा स्थानमा सिक्री लुटपाट गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
असोज ८ गते ललितपुरको नख्खुडोलबाट १.५ तोलाको सिक्री लुटिएको, असोज २३ गते नागार्जुन–३ सिंगल ट्रीनजिक १ तोला १५ लालको सिक्री, असोज २६ गते ललितपुर बुद्धचोकबाट ३ तोलाको सिक्री, कार्तिक १ गते नागार्जुन र रामकोट क्षेत्रमा तीनवटा घटनामा करिब ४ तोलाको सिक्री र मोबाइल लुटिएको, सोही दिन तार्केश्वर नगरपालिका, बालाजु–नेपालटार क्षेत्रबाट २ तोलाको सिक्री लुटिएको जनाइएको छ।
राज लामा र दुर्ग बहादुर मगरको कोठाबाट प्रहरीले विभिन्न मोबाइल, सिम कार्ड, मोटरसाइकल र लुटपाटमा प्रयोग भएका लत्ताकपडा बरामद गरेको छ।
९ थान मोबाइल, ६० भन्दा बढी सिम कार्ड, दुई मोटरसाइकल (२०० र २२० सि.सि), लुटपाटका क्रममा प्रयोग भएका कपडा र उपकरण र लक्ष्मी ज्वेलर्सको सुन किनबेच बिल र अदालतका कागजात समावेश छन् ।
रामेछापका दिल बहादुर बिक सल्लाघारीस्थित श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गरी लुटिएको सुन किनबेच गर्ने व्यक्ति भएको खुलेको छ । उनको पसलबाट रु. ३ लाख ८८ हजार ५०० नगद बरामद गरिएको छ ।
त्यस्तै, गोबिन्द सुनारको बागलुङ कालिका ज्वेलर्स बाट ७ तोला ४८ लाल सुन र रु. एक लाख ६६ हजार नगद फेला परेको छ । दिपेस रसाइलीको कुलेश्वरस्थित कोठाबाट पनि ६४ लाल तौलका चारवटा सुनका ढिक्का बरामद गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले मोटरसाइकल प्रयोग गरी सडकमा हिँड्ने महिलालाई लक्षित गरेर सिक्री तान्ने र पछि सुन पसलमार्फत बेच्ने गरेका थिए । अनुसन्धानपछि थप संलग्न व्यक्तिहरूको पहिचान र खोजी भइरहेको जनाइएको छ।