काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि बोलाएको छ ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयानका लागि बोलाएको हो।
जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने नख्खु कारागार प्रशासन स्रोतले जनाएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । जेलबाट निस्किएको विषयमा उनीमाथि सार्वजनिक प्रश्च उठेका छन्।
यसअघि नख्खु जेल प्रशासनसँग पनि आयोगका पदाधिकारीले बयान लिइसकेका छन्।
सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन गरेको छ।