Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र छविलालको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछाने र छविलालको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

बिहिवार , कार्तिक २७, २०८२

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

उच्च अदालत दाङको बुटवल इजलासमा न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा बिहीबार सुनुवाइ भएको मुद्दामा इजलासले प्रमाण मिसिल झिकाउने आदेश गरेको हो ।

यसअघि कात्तिक २० गते इजलासले रुपन्देही जिल्ला अदालतबाट ‘सुरू मिसिल’ अर्थात् आदेश र कागजातहरू माग गर्ने आदेश दिएको थियो । ती मिसिलहरू प्राप्त भएसँगै आजका लागि पेसी तोकिएको थियो।

कात्तिक १३ गते तोकिएको अघिल्लो पेसी जोशीका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो । यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र जोशी दुवैको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै एउटै इजलासमा राख्ने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागबराबरको बिगो रकम बुझाई थुनामै रहँदै मुद्दा लड्न माग गरेका थिए । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । यसअघि बुटवल उच्च अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश पनि दिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो एक भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाई बैंक जमानत पेस गरेका छन् । जोशीले पनि सोही बराबरको जमानत पेस गरेका थिए। तर दुवैको भागमा ठ्याक्कै कति बिगो पर्ने भन्ने यकिन नभएकाले जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनीहरूको रिहा माग निवेदन अस्वीकार गरेको थियो ।

जिल्ला अदालतबाट रिहा नगरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। हाल दुवै पुर्पक्षका लागि थुनामा छन् । लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागारमा ल्याइएको छ भने जोशी भैरहवा कारागारमै छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077