काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको जितमा ओपनर बेन चार्ल्सवर्थले विष्फोटक सुरुवात दिलाएका थिए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाए। अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन र मिलिन्द कुमार १९ र जोन सिम्पसनले १३ रन जोडे ।
जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललित राजवंशी, जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमुर्थीले समान एक(एक विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
मयन यादवले अविजित ३४ रन र लाहिरु समरकूनले २२ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए ।
काठमाण्डूका लागि बलिङमा भारतीय खेलाडी मिलिन्द कुमारले सानदार प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
त्यस्तै, कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले समान एक-एक विकेट लिए।