काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनको तयारीसँगै संघर्षका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
सानेपामा बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी अभियान र विरोध कार्यक्रमलाई समानान्तर रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।
प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपा नेपालले घोषणा गरेको संघर्षका कार्यक्रमअनुसार यही मंसिर १० गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ ।
मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजारमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गरिनेछ ।
यस्तै, मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालयअगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइनेछ । मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध तथा सभा आयोजना गरिने उनले जानकारी दिए ।
जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोधसभाको कार्यक्रम समेत सार्वजनिक गरेको छ । पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज, १७ गते नेपालगन्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।