काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाविरुद्ध एकजुट हुनपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले प्रधान कार्यालय नक्सालमा आयोजना गरेको १६ दिने अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले यस्तो बताएका हुन् ।
महानिरीक्षक कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताए।
हिंसात्मक घटनाबारे सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउँदै उनले भने- 'पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसाका घटना भइरहेका छन्। त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्यसामग्री राख्न जरुरी देखिएको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । लैङ्गिक हिंसाका बहुआयमिक रूप र बहुपक्षीय असर छन् यसको रोकथामका लागि बहुआयमिक सहकार्य र समन्वयबाट आवश्यक छ ।'
महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकामा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनले लैङ्गिक हिंसा नियन्त्रणका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।
सोही अवसरमा कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेका प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान गरे ।