काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय कसलाई जाने भन्ने बहस फेरि चर्किएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएको टिप्पणीले फेरि चर्चा थपेको हो ।
बुधबार औपचारिक रूपमा घोषणा गरिएको उज्यालो नेपाल पार्टीलाई लक्षित गर्दै पोखरेलले ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले र पार्टी खोल्यो तेश्रोले’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे ।
उनले योजनाको श्रेय अरूले लिएको र उपलब्धिको आधारमा अरूले राजनीतिक लाभ उठाएको आरोप लगाउँदै 'वास्तविक श्रेय पाउनुपर्ने पक्षलाई कहिले सम्मान गरिने हो ?' भनेर प्रश्नसमेत उठाए ।
पोखरेलले नाम नलिएको भए पनि उनको टिप्पणी माओवादी केन्द्र र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङतर्फ संकेत भएको बुझिन्छ।
लोडसेडिङ अन्त्यमा घिसिङको भूमिकालाई व्यापक रूपमा स्वीकार गरिन्छ भने माओवादी केन्द्रले पनि आफ्नो सरकारकालको पहललाई श्रेय दिने गरेको छ ।
तर, पोखरेलले एमालेकै योजनाबाट लोडसेडिङ अन्त्यको शुरुवात भएको बताए ।