काठमाडौं । एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको नाममा देशका उच्चपदस्थलाई धम्की दिन थालिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । नाम नै लिएर धम्की दिइएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षा पठाएको छ ।
प्रहरी प्रधान कार्यालयले नै १० जनाको सुरक्षा पठाउन परिपत्र गरेको छ । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतमाथि सुरक्षा थप गरिएको छ ।
यो समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले १० दिन भित्र राजिनामा नदिए हत्या गरिदिने धम्की दिएको दियोपोस्ट डटकमले खुलासा गरेको थियो ।
१० जनामा अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, पूर्वगृहमन्त्रीहरु रमेश लेखक र बालकृष्ण खाँण, नेपाल आयल निगमनका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का, पूर्व परराष्ट्रमन्त्री आरजु देउवा, नेपाल प्रहरीका पूर्वआइजिपीहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाई छन् । सुडान भ्रष्टाचार प्रकरणमा परेका पूर्वआइजिपीको नाम किटेर यस्तो धम्की दिइएको छ।

प्रहरीले गरेका परिपत्रमा सम्बन्धित व्यक्तिहरुसँग समन्वय गरी निवास क्षेत्रमा पट्रोलिङ बढाउन र सादा पोशाकमा प्रहरी खटाएर सूचना संकलन गर्न भनिएको छ।
स्रोतका अनुसार सो समूहमाथि प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। केही व्यक्तिहरु पक्राउ समेत परेका छन्। गिरोहका नाइके भनिएका व्यक्ति भने विदेशमा रहेको खुलेको छ ।
उनीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खटाएको आशंका गरिएको छ।
आफुविरुद्ध मुद्दा दायर हुने सम्भावना देखिएपछि उनले पैसा खर्च गरेर अख्तियार प्रमुख राई लगायतलाई धम्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोत बताउँछ । अधिकारीलाई पक्राउ गरी आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।