बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
सुरुमा लामिछाने पक्षका कानुनी व्यवसायीहरूले दुई पटक निवेदन पेश गर्दा बहस रोकिएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो एक भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाई बैंक जमानत पेस गरेका छन् । जोशीले पनि सोही बराबरको जमानत पेस गरेका थिए। तर दुवैको भागमा ठ्याक्कै कति बिगो पर्ने भन्ने यकिन नभएकाले जिल्ला अदालत रुपन्देहीले साउन २६ गते उनीहरूको रिहा माग निवेदन अस्वीकार गरेको थियो ।
जिल्ला अदालतबाट रिहा नगरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले गरेको आदेशविरुद्ध लामिछाने र जोशी उच्च अदालत पुगेका हुन्।
दुवैको मुद्दालाई एकैसाथ राखेर अदालतले सुनुवाइ गर्ने भएको छ ।