Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलको दाबी

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलको दाबी

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट सक्षम नेतृत्व चयन भएको दाबी गरेका छन्।

दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि उनले महाधिवेशन पार्टीको गौरव बढाउने ऐतिहासिक उपलब्धिका रूपमा सफल भएको बताएका हुन्।

पोखरेलले जारी गरेको सन्देशमा भनेका छन्, 'नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनका सन्देशहरू अब पार्टी पंक्तिले आम जनताबीच पुर्‍याउनुपर्छ। विधान महाधिवेशनबाट पारित नीतिका आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको छ।'

महाधिवेशनका प्रमुख विशेषताबारे उल्लेख गर्दै उनले उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक बनेको बताए। भक्तपुरको सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रफलको मैदान पनि उद्घाटनका लागि साँघुरो देखिनु त्यसको प्रमाण भएको उनको भनाइ छ।

पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको ‘घेराबन्दी’ चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उनको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा दिएको बताए। साथै, नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्थाले उल्लेख्य संख्यामा युवाहरू केन्द्रीय कमिटीमा प्रवेश गरेको उल्लेख गरे।

यसपटक प्रायः सबै पदमा प्रतिस्पर्धा भएको र विजयी–पराजित दुवैले परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेकाले पार्टीको लोकतान्त्रिक छवि सुदृढ भएको उनको भनाइ छ।

आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत भएको उनले बताए।

महाधिवेशनको व्यवस्थापन चुस्त र दुरुस्त रहेको उल्लेख गर्दै निर्वाचनमा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न भएको पोखरेलले बताए।

छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूको सहभागिताले एमालेको नेतृत्वकारी भूमिका स्थापित भएको उनको भनाइ छ।

केन्द्रीय सदस्य विष्णु रिमालको पराजयलाई दुःखद पक्ष भन्दै पोखरेलले यसले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको बताए। यसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको उनले औँल्याए।

समग्रमा महाधिवेशनले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको दाबी गर्दै पोखरेलले महासचिव पदको निर्वाचन अत्यन्त प्रतिस्पर्धात्मक र पेचिलो रहेको बताए। 'अनेक भ्रम र अफवाह सिर्जना गरी गरिएको चौतर्फी घेराबन्दी र प्रहारलाई कार्यकर्ता पंक्तिले दृढतापूर्वक सामना गर्‍यो र असफल तुल्यायो,' उनले भने।

महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीति व्यवहारमा उतारेको उल्लेख गर्दै उनले ४० वर्षमुनिका युवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्य निर्वाचित भएको जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077