बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्कराज राई (साम्पाङ) ले आफू पार्टी बनाउनका लागि नभई भत्किएको देश बनाउन राजनीतिमा आएको दाबी गरेका छन् ।
शनिबार रुपन्देहीको बुटवलमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् ।
‘संसारभरिका मिडिया नेपाल आउन खोज्ने खालको देश बनाउने कि नबनाउने भन्ने हाम्रो हातमा छ,’ उनले भने, ‘म त्यही सम्भावना खोज्दै आएको हुँ। तपाईंहरूलाई लाग्ला—कार्यकर्ता खोज्न आयो, पार्टी बनाउन आयो भनेर। मलाई पार्टी बनाउनु छैन, भत्केको यो देश बनाउन चाहन्छु।’
देशमा व्याप्त अन्याय, अत्याचार र भ्रष्टाचारको अन्त्यका लागि साथ दिन उनले जनतासँग अपिल गरे। ‘यदि साँच्चिकै परिवर्तन चाहन्छौँ भने हामी सबै लामबद्ध भएर अगाडि बढ्नुपर्छ। हरेक मान्छेले काम गर्नुपर्छ,’ उनले भने ।