Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राजनीतिमा नयाँ–पुरानो होइन, एजेण्डा र गन्तव्य अर्थपूर्ण हुन्छ : शंकर पोखरेल

राजनीतिमा नयाँ–पुरानो होइन, एजेण्डा र गन्तव्य अर्थपूर्ण हुन्छ : शंकर पोखरेल

शनिवार , पौष १२, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना भन्दा पनि एजेण्डा र गन्तव्यको विशेष अर्थ हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले नीतिविहीन र एजेण्डाविहीन शक्तिलाई ‘नयाँ’ को पगरी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्ने भ्रम मात्र भएको उल्लेख गरेका हुन् ।

आफूलाई नयाँ शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरका मेयर बालेन्द्र साहलगायत भर्खरै स्थापित दलहरूबीच गठबन्धनको प्रयास भइरहेका बेला पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।

उनले पार्टीको इतिहास पुरानो हुन सक्ने तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा पार्टीहरू सधैं जीवन्त र सान्दर्भिक रहने बताए ।

‘नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो,’ पोखरेलले लेखेका छन्, ‘यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरू नयाँहरू मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन्।’

महासचिव पोखरेलले नयाँका नाममा चर्चामा आएका रवि लामिछाने, बालेन्द्र साह, हर्क साम्पाङ र कुलमान घिसिङ सबै नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै रूपमा परीक्षण भइसकेका पात्र भएको दाबी गरेका छन् ।

साथै ‘जेनजी’ कुनै संगठित राजनीतिक शक्ति नभई प्रविधिसँग हुर्किएको उमेर समूह मात्र भएको उल्लेख गर्दै, यसलाई जननिर्वाचित सत्ताविरुद्ध प्रयोग गर्ने षड्यन्त्र भइरहेको आरोप पनि लगाए।

उनले भाद्र २३ को प्रदर्शनपछि नवयुवाहरूले त्यस्ता षड्यन्त्र बुझ्दै एमाले नेतृत्वसँग संवाद थालेको दाबी गर्दै, अहिले पनि युवामाझ एमाले नयाँ भनिने शक्तिहरूभन्दा लोकप्रिय रहेको बताएका छन्। पछिल्लो समय देशविरुद्ध भइरहेका षड्यन्त्र बुझ्दै गएसँगै युवाहरू एमालेप्रति थप प्रतिवद्ध बन्दै गएको पोखरेलको भनाइ छ।

‘पुरानाका विरुद्ध नयाँहरूलाई जसरी पनि मिलाउने प्रयास अब सान्दर्भिक छैन,’ उनले लेखेका छन्, ‘समयअनुकूल चल्न नसक्ने दल मात्र समाप्त हुन्छन्, एमाले त्यस्तो पार्टी होइन।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077