काठमाडौं । सेवा निवृत्त भएका प्रहरी निरीक्षक केशब खड्कालाई विशेष सम्मानसहित फौजी परम्परा अनुसार भव्य बिदाइ गरिएको छ ।
नगर प्रहरी कार्यालयमा आयोजित बिदाइ समारोहमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाको प्रमुख आतिथ्यतामा इन्स्पेक्टर खड्कालाई बिदाइ गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै सेवा निवृत्त प्रहरी निरीक्षक खड्काले प्रहरी संगठनले आफूलाई दिएको मान–सम्मान र आत्मसम्मानका कारण आफ्नो सेवा जीवन गौरवपूर्ण बनेको उल्लेख गरे ।
उनले देश र जनताको सुरक्षा जिम्मेवारी बहन गर्न पाउनु नै आफ्नो जीवनको सर्वोच्च सम्मान भएको भावना व्यक्त गरे ।
एसएसपी थापाले प्रहरी निरीक्षक खड्काले करिब ३० वर्षसम्म अनुशासन, निष्ठा र इमान्दारिताका साथ कुनै दाग नलाग्ने गरी सेवा सम्पन्न गरेको उल्लेख गर्दै उच्च प्रशंसा गरे ।
साथै, उनले सेवा निवृत्त जीवन सुखद, स्वस्थ र सम्मानजनक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन् ।