बर्दिया । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।
जिल्लाको गुलरिया नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्ला मोतीपुर ठाना लौकाही बजारका ३१ वर्षीय फिरोज खान घाइते भएका हुन् ।
बुधबार साँझ प्रहरीले लागुऔषध चेकजाँच गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कर्यालय बर्दियाले जनाएको छ ।
खान भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । प्रहरीले चलाएको गोली खानको दायाँ खुट्टामा लागेको छ । खानको बर्दिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले खानको साथबाट २८३ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको छ ।