एजेन्सी । भारतमा भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ । पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको मध्यग्राममा घटना भएको हो ।
प्रारम्भिक रिपोर्टअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनको गाडी रोकेर अन्धाधुन्ध गोली चलाएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
भाजपा नेताहरूले यो योजनाबद्ध हमला भएको दाबी गर्दै यसको पछाडि तृणमूल कांग्रेसको हात हुन सक्ने आरोप लगाएका छन्। अर्कोतर्फ अखिल भारतीय तृणमूल कांग्रेसले घटनाको निन्दा गर्दै निष्पक्ष छानबिन तथा अदालतको निगरानीमा सीबीआई अनुसन्धानको माग गरेको छ।
प्रहरी तथा डीजीपी सिद्धनाथ गुप्ताका अनुसार घटनामा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ । तर उक्त गाडीको नम्बर प्लेट नक्कली रहेको पाइएको छ।
घटनास्थलबाट खाली तथा जिउँदा कारतुस बरामद गरिएको छ।सीसीटीभी फुटेजको जाँच भइरहेको छ र आक्रमणकारीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।