एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल सम्झौता गर्न तयार रहन वा ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले भेनेजुएलाबाट क्युबामा जाने तेल र पैसाको प्रवाह पूर्ण रूपमा रोक्ने स्पष्ट सन्देश दिएका हुन् ।
गत ३ जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकसमा छापा मारी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि ट्रम्प प्रशासनको ध्यान क्युबातर्फ केन्द्रित भएको हो। क्युबा लामो समयदेखि आफ्नो प्रमुख सहयोगी भेनेजुएलाबाट प्राप्त हुने तेलमा निर्भर रहँदै आएको छ।
भेनेजुएलाले क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल आपूर्ति गर्दै आएको थियो। तर ट्रम्प प्रशासनले प्रतिबन्धित भेनेजुएली तेल बोकेका ट्यांकरहरू जफत गर्ने रणनीति अपनाएपछि क्युबामा इन्धन अभाव र बिजुली संकट सुरु भइसकेको छ।
ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै क्युबाका विदेशमन्त्रीले कुनै पनि बाह्य शक्तिलाई क्युबाको ऊर्जा आयातमा हस्तक्षेप गर्ने अधिकार नरहेको बताएका छन्। 'हामीले के गर्ने भन्ने कुरा ट्रम्पले निर्धारण गर्न सक्दैनन्,' उनले स्पष्ट पारे।
आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै क्युबाले विगतमा भेनेजुएलाको तेल र पैसाको बदलामा त्यहाँका शासकहरूलाई सुरक्षा सेवा प्रदान गरेको आरोप लगाए। उनले अब क्युबातर्फ कुनै पनि प्रकारको तेल वा आर्थिक सहयोग नजाने दाबी गरेका छन्।
'अब क्युबामा कुनै तेल वा पैसा जाने छैन। यो केवल शून्य हुनेछ,' ट्रम्पले लेखेका छन्। उनले क्युबालाई धेरै ढिला हुनुअघि सम्झौतामा आउन चेतावनी दिएका छन्, तर सम्झौताका सर्त वा सम्भावित परिणामबारे भने विस्तृत जानकारी दिएका छैनन्।