Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाप्रति महेश बस्नेतको टिप्पणी–लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए

गगन थापाप्रति महेश बस्नेतको टिप्पणी–लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद् र चिन्ताजनक घटना भएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुलाई कारबाही गरेपछि बस्नेतले त्यसप्रति कडा टिप्पणी गरेका हुन् ।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले ‘कांग्रेस लासहरूको पार्टी होइन’ भन्ने अभिव्यक्ति दिएका थिए । बस्नेतले अहिले त्यसकै प्रतिवाद गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्दै उफ्रिने नेताहरूले नै ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाएको आरोप लगाएका छन् ।

उनले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर बन्दै गएको, देश राजनीतिक अस्थिरता र अनिश्चितताबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखेका छन् । तर केही नेताहरूको अभिव्यक्तिले कांग्रेसलाई विभाजनतर्फ धकेलेको उनको तर्क छ ।

बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना र आरोप खेपेर पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिकालाई अतुलनीय र प्रशंसनीय भएको बताएका छन् । बलियो नेतृत्व, स्पष्ट अभिभावकत्व र पार्टीप्रतिको जिम्मेवारीको अभावका कारण कांग्रेस विभाजनको दिशामा गएको यथार्थलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ ।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस
लोकतन्त्र कमजोर बनेको, देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद् र चिन्ताजनक घटना हो। यस्तो संवेदनशील समयमा लोकतन्त्रको मर्म जोगाउन सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने थियो। तर “लासहरूको पार्टी हैन कांग्रेस” भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरंकुशताको आरोप खेपेर भए पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिका अतुलनीय र प्रशंसनीय छ। बलियो एमाले र के पी ओली जस्तो अभिभावकत्व, स्पष्ट नेतृत्व र पार्टीप्रतिको जिम्मेवारी नभएको अवस्थामा कांग्रेस विभाजनतर्फ धकेलिएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन।

लोकतन्त्र धरापमा परेको, असंवैधानिक अभ्यासहरू हावी हुँदै गएको र विदेशी चलखेलले देशको अस्तित्वसमेत संकटमा परिरहेका बेला गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले स्थितिलाई सच्याउँछ कि अझै जटिल बनाउँछ। यसको गम्भीर समीक्षा इतिहासले गर्नेनैछ। जे होस्, आज कांग्रेसभित्र घटेको यो नसोचेको घटना लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077