काठमाडौं । चुनावको मुखमा नेपाल प्रहरीले डीएसपीदेखि डीआईजीसम्मको सरुवा गरेको छ । कतिपय सरुवामा प्रश्न उठेको छ । आठ जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
सरुवामा चार प्रदेशको नेतृत्व फेरिएको छ । लुम्बिनीमा भूपेन्द्रबहादुर खत्री, बागमतीमा दिपक रेग्मी, गण्डकीमा दिपेन्द्र घर्ती क्षेत्री र कर्णालीमा जयराज सापकोटालाई पठाइएको छ ।
एआइजी बढुवामा समेत छुटाइएका गण्डकीका डीआईजी दिनेश आचार्यलाई पूरा कार्यकाल पनि काम गर्न नदिएकोमा प्रश्न उठेको छ । उनी आईजीपी दानबहादुर कार्कीकै ब्याचका अधिकृत हुन् ।
सरुवा गरिएकामध्ये गण्डकी र कर्णालीमा पठाइएका डीआईजी राष्ट्रिय अनुसन्धान विभागका टोली हुन् । कर्णालीमा पठाइएका सापकोटालाई एक महिनाअघि मात्र आईजीपी कार्कीले कारबाही गरेका थिए ।
डीआईजी सरुवामा असन्तुष्टि जनाउँदै उनले फेसबुकमा आचरणविपरीतको स्टाटस लेखका थिए । जसमा उनलाई नसियद दिइएको थियो । चुनावको संवेदनशील समयमा उनै सापकोटालाई प्रदेशको प्रहरी प्रमुखमा खटाइएको छ।
बागमती प्रदेशमा सरुवा गरिएका दिपक रेग्मी पनि गत वर्ष कारबाहीमा परेका अधिकृत हुन् । पोखरामा एसएसपी हुँदा उनी महिलाकाण्डमा कारबाही परेका थिए।
तिनै विवादास्पद अधिकृतलाई बागमती प्रदेशको जिम्मा दिएपछि कतिपयले गृह मन्त्रालयमाथि समेत प्रश्न उठाएका छन् । गृह मन्त्रालय स्रोतले भने प्रहरी नेतृत्वको सिफारिसअनुसार नै सबै सरुवा भएको दाबी गरेको छ ।