मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित एक पिकअप गाडी बरामद गरेको छ ।
प्रहरीले १७२ किलो ६ सय ग्राम गाँजा बोकेको प्रदेश ३–०१–०२४च ४२७० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–२ अन्तर्गत लोकप्रिय होटलको मोड नजिकबाट उक्त गाँजा बरामद गरिएको हो।
भीमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोइन्ट अगाडि नियमित चेकजाँचका क्रममा आपचौरबाट भौसेतर्फ आउँदै गरेको पिकअप गाडीलाई रोक्न खोज्दा चालकले प्रहरी देख्नेबित्तिकै गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
गाडीको खानतलासी गर्दा भित्र लुकाइराखिएको अवस्थामा १७२ किलो ६ सय ग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।
फरार चालकको खोजी तीव्र बनाइएको र बरामद गरिएको गाँजा तथा गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।