सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल आठ जिल्लामा सीमित मधेश प्रदेशलाई विस्तार गर्दै २२ जिल्लाको मधेश निर्माण गर्नका लागि आफ्नो पार्टीको संघर्ष जारी रहेको बताएका छन् ।
सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले मधेश प्रदेश पहिचानको आधारमा बनेको देशकै एकमात्र प्रदेश भएको दाबी गरेका हुन् ।
अनेकौं चुनौती र अवरोधका बाबजुद आठ जिल्लाको मधेश प्रदेश निर्माण सफल भएको उल्लेख गर्दै सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले मधेश आन्दोलनको मूल उद्देश्य अझै पूरा नभएको बताएका छन् ।
उनले भने, 'देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र हो । अब २२ जिल्लाको मधेश निर्माण गर्न जसपा नेपाल बलियो शक्ति भएर उदाउनु जरुरी छ।'