काठमाडौं । नेपाल प्रहरीले एआईको दुरुपयोग, डिजिटल म्यानुपुलेशन र झुटा सामग्रीको बढ्दो समस्यालाई नियन्त्रण गर्न छुट्टै एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्ने तयारी गरेको छ।
सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधिको दुरुपयोगमार्फत गलत सूचना, हेट स्पिच र भ्रामक सामग्री प्रसारण हुने क्रम बढेकाले त्यस्ता गतिविधिको निगरानी र कानूनी उपचारका लागि सेल गठन गर्न लागेको बताएका हुन्।
आईजीपी कार्कीले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा मिसइन्फरमेशन र डिसइन्फरमेशन फैलिनु गम्भीर चिन्ताको विषय बनेको बताए।
उनले कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने उल्लेख गर्दै कपी–पेस्ट प्रवृत्तिले सिर्जनशीलता नष्ट गरिरहेको पनि टिप्पणी गरे।
उनले भने- 'आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सृर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो । कानून कार्यान्वयन नै कानूनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शुन्यता हुन्छ । राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरुको धर्मको रुपमा आत्मासात हुनका लागि पनि यो आजको अन्तरक्रियात्मक कार्यक्रमले एउटा मार्गदर्शन तयार गर्नेछ भन्ने हाम्रो स्वभाविक अपेक्षा छ । यस किसिमका गतिविधि, निगरानी र कानूनी उपचारका लागि नेपाल प्रहरीले पनि अव एउटा एआई र एडभान्स एनालेटिक सेल बनाएर काम गर्नु पर्छ भन्ने तर्फको निचोडमा हामी पुग्ने अवस्थामा छौ ।'
आईजीपी कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञ्चारकर्मीहरूले आफ्नो पेशागत धर्मका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिए। सञ्चार माध्यम र सुरक्षा निकायबीचको सहकार्यले मात्र झुटा सूचना र डिजिटल अपराधविरुद्ध प्रभावकारी भूमिका खेल्न सकिने भन्दै उनले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरूले मार्गदर्शन तयार गर्ने अपेक्षा व्यक्त गरे।