विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुशासन समाप्त गर्दै मुलुकमा विधिको शासन स्थापित गर्ने नयाँ अभियान सुरु भएको बताएका छन् ।
सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले कुशासन र भ्रष्टाचारको अन्त्य गर्दै जनतामा भरोसा जगाउने अभियान सुरु गरेको स्पष्ट पारे।
उनले कार्यकर्तालाई गाउँगाउँ पुगेर जनताको भावना बुझ्न, प्रश्न सुन्न र जवाफ दिन निर्देशन दिँदै कांग्रेसप्रति जनताले उठाएका प्रश्नलाई बेवास्ता गर्न नहुने बताए।
थापाले भने,'गाउँगाउँबाट ‘कांग्रेसले के गर्छ ?’ भनेर सोधिएको छ। हामी कुशासन अन्त्य गर्दै विधिको शासन लागू गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं।'
सभापति थापाले विगतमा कमजोर र पंगु बनाइएका राज्यका निकायहरूमा सुधार ल्याएर जनमुखी सेवा प्रवाह सुनिश्चित गर्ने योजना पनि अघि सारे।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र महान्यायधिवक्ताको कार्यालय लगायतका निकायलाई प्रभावकारी बनाउँदै सेवा द्रुत र सहज बनाउने उद्देश्यका साथ सुधार गरिने बताए।
उनका अनुसार कांग्रेसले संविधानको निरन्तरतालाई सुनिश्चित गर्दै प्रदेशलाई सबल बनाउने, दलित, मुस्लिम, अल्पसंख्यक, मधेशी तथा महिलाका हक अधिकार सुनिश्चित गर्ने र धर्म तथा संस्कृतिको संरक्षण गर्ने नीति अघि सारेको छ।
सभापति थापाले २०८२ साल फागुन २१ पछिका पाँच वर्षलाई ‘भ्रष्टाचारविरुद्धको महाअभियान’को वर्ष बनाउने योजना रहेको पनि सार्वजनिक गरे।