काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बकर इद (ईद–उल–अज्हा) पर्वले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परालाई थप मजबुत बनाउँदै आएको बताएका छन् ।
बकर इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले यहाँ मनाइने विभिन्न चाडपर्वहरूले सामाजिक एकता र सहअस्तित्वको भावना सुदृढ बनाउँदै आएको उल्लेख गरेका हुन्।
उनले धार्मिक तथा सांस्कृतिक विविधताबीचको आपसी सद्भाव नै नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै यस्ता पर्वहरूले समाजमा प्रेम, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
‘बकर इद पर्व नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु,’ सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
उनको शुभकामना सन्देशसँगै बकर इद पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।