काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधि सभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताले नेपाली जनताको लोकतन्त्रप्रतिको दृढ निष्ठा र प्रतिबद्धता पुनः पुष्टि भएको जनाएको छ।
पार्टीका सभापति गगनकुमार थापाले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरिएको छ।
विज्ञप्तिअनुसार मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वास झल्काएको छ। यसले राजनीतिक दलहरू र आगामी सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको पनि उल्लेख गरिएको छ।
कांग्रेसले केही स्थानमा भएका छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै त्यसका लागि सरकार र निर्वाचन आयोग लाई विशेष धन्यवाद दिएको छ।
निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण सुरक्षा निकायप्रति पनि पार्टीले हार्दिक आभार र बधाई व्यक्त गरेको छ।
त्यसैगरी निर्वाचन प्रक्रियामा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको विज्ञप्तिमा उल्लेख छ।