एजेन्सी । अफगानिस्तानसँग जारी तनावबीच पाकिस्तान विदेश मन्त्रालयले तालिबानले पुनः कुनै उक्साहटपूर्ण कदम चाले कडा जवाफ दिइने चेतावनी दिएको छ ।
पछिल्ला केही दिनयता सीमा क्षेत्रमा भएको झडप र हवाई आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानसँग “खुला युद्ध” को घोषणा गर्दै पाकिस्तानको धैर्य समाप्त भइसकेको बताएका थिए। उनका अनुसार राष्ट्रिय सुरक्षामा चुनौती देखिएपछि कडा कदम चाल्नु अपरिहार्य बनेको हो।
पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरी ले प्रधानमन्त्री शहबाज शरीफ को निर्देशनमा सैन्य अभियान जारी रहेको जानकारी दिएका छन्।
पाकिस्तानी सेनाका अनुसार शुक्रबार गरिएको हवाई आक्रमणमा अफगानिस्तानका २२ सैन्य ठेगानालाई निसाना बनाइएको छ। सो आक्रमणमा २७० भन्दा बढी तालिबानी अधिकारी तथा उग्रवादी मारिएको दाबी गरिएको छ। साथै, उक्त संघर्षमा १२ पाकिस्तानी सैनिकको मृत्यु भएको जानकारी पनि सेनाले दिएको छ।
तर, तालिबान पक्षले भने फरक दाबी गरेको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद का अनुसार अफगानी सुरक्षा बलको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएका छन्।
तालिबानले १३ अफगान सैनिकको पनि मृत्यु भएको जनाएको छ। दुवै पक्षका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
तनाव चर्किँदै जाँदा चीन, इरान, बेलायत र टर्की लगायतका देशहरूले संयम अपनाउन र युद्धविरामका लागि पहल गर्न दुवै पक्षलाई अपिल गरेका छन्।