काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको बताएका छन् ।
भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थिति अराजकताउन्मुख बन्दै गएको दाबी गरेका हुन् ।
प्रचण्डले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि केपी शर्मा ओली नेतृत्वको सरकार नसुध्रिएको आरोप लगाउँदै कुशासनका कारण देश अनिश्चय र अस्थिरतातर्फ धकेलिएको बताए।
उनका अनुसार एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता निम्त्याउने प्रवृत्ति छ भने अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा बनेको छ।
यी दुबै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरे। वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यक रहेको बताए।
उनका अनुसार हाल नेपाली कम्युनिस्ट पार्टीको पुनर्गठन प्रक्रिया अघि बढाइएको छ र २५ भन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ देशभक्त शक्ति निर्माण भएको छ।
उनले नेकपा विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको दाबी गरे।