एजेन्सी । अमेरिकाले विश्वव्यापी ऊर्जा बजार स्थिर बनाउन र कच्चा तेलको मूल्य वृद्धि रोक्न इरानी तेलमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गर्दैछ ।
अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले एक अन्तर्वार्तामा यस्तो सम्भावना अघि सारेका हुन् ।
यस कदमले विश्व बजारमा थप तेल उपलब्ध गराउन सक्नेछ, जसले बढ्दो ऊर्जा मूल्यलाई केही समयका लागि नियन्त्रणमा राख्न मद्दत गर्ने छ ।उनले भने- 'आगामी दिनमा हामी समुद्रमा रहेका करिब १४० मिलियन ब्यारेल इरानी तेलमाथि प्रतिबन्ध हटाउन सक्छौं ।'
यसले करिब १० देखि १४ दिनसम्मका लागि विश्व बजारमा मूल्य घटाउन सक्ने अनुमान गरिएको छ । तर यस्तो निर्णय कार्यान्वयन गर्दा प्राप्त आम्दानी इरानी सरकारसम्म पुग्न नदिने व्यवस्था कसरी गरिने भन्ने विषय अझै स्पष्ट छैन ।
बेसेन्टका अनुसार यस रणनीतिले तेलको मूल्यलाई कम राख्न मद्दत गर्नेछ । अमेरिका विश्वव्यापी तेल मूल्यमा प्रभाव पार्न घरेलु तेल भण्डारको उपयोग जस्ता उपायहरू पनि प्रयोग गर्न सक्नेछ । उनले भने- 'अमेरिकाले पहिले रूसको तेलमाथिको प्रतिबन्ध हटाउँदा होर्मुज खाडी बाहिर १३० मिलियन ब्यारेल तेल उपलब्ध भएको थियो ।'
त्यसैगरी, अमेरिकाले इतिहासकै ठूलो रणनीतिक पेट्रोलियम भण्डार (SPR) बाट ४०० मिलियन ब्यारेल तेल जारी गर्ने अनुमति पाएको छ ।
तीन हप्ताअघिदेखि सुरु भएको इजरायल–अमेरिका र इरान युद्धका कारण आपूर्ति शृङ्खला र उत्पादन प्रभावित भएपछि विश्वभर ऊर्जा मूल्य तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा इरानको तेल बजारमा ल्याउने प्रस्तावलाई अमेरिकी नीतिको ठुलो परिवर्तनका रूपमा हेरिएको छ ।
लामो समयदेखि इरानमाथि कडा प्रतिबन्ध लगाउँदै आएको अमेरिका अहिले परिस्थितिअनुसार लचिलो बन्न खोजिरहेको देखिन्छ ।