काठमाडौं । राजधानीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै उपत्यकाका सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएका छन्।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले आफ्ना मातहतका सबै प्रहरी कर्मचारीलाई ‘अलर्ट’ अवस्थामा रहन निर्देशन दिएको हो ।
शुक्रबार राति प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा छलफल गरी फर्किएपछि दुवै हेडक्वार्टरले यस्तो सर्कुलर गरेका हुन् ।
सर्कुलरअनुसार आवश्यक परे तुरुन्त परिचालन हुन सक्ने गरी सबै कर्मचारीलाई तयारी अवस्थामा बस्न भनिएको छ।
यसअघि नै नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल तथा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले पनि आफ्ना कर्मचारीहरूलाई बर्दीसहित स्ट्यान्डबाई रहन निर्देशन दिइसकेका छन्।
विशेषगरी नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेदेखि नै बर्दीमा उपस्थित भई तयारी अवस्थामा बस्न भनिएको छ।
मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृहप्रशासनले निर्देशन दिएको हो ।
गृहमन्त्री सुधन गुरुङले पदवहालीपछि कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएका थिए ।