Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सर्वसाधरणलाई नेपाल प्रहरीको ‘अप्रिल फुल’ !

सर्वसाधरणलाई नेपाल प्रहरीको ‘अप्रिल फुल’ !

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्ने पोस्ट गर्‍यो। 

उक्त सन्देश देख्नासास धेरैले क्यूआर कोड स्क्यान गरेको बताएका छन् । तर, उक्त क्यूआर कोड नेपाल प्रहरीको सचेतनामूलक अभियान भएको खुलेको छ।

क्यूआर कोड स्क्यान गरेपछि ‘अप्रिल फुल’ सन्देश देखिँदै, उक्त क्यूआर कोड साइबर सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ–‘आज हामीले मजाक गरेका थियौं, तर भोलि यस्तै क्यूआर कोडबाट तपाईं स्क्याममा पनि पर्न सक्नु हुन्छ।’

नेपाल प्रहरीले अप्रिल फुल अर्थात मुर्ख दिवसको अवसर पारेर यस्तो अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई क्यूआर कोडमार्फत हुने सम्भावित ठगीप्रति सचेत गराएको हो। पछिल्लो समय अज्ञात स्रोतबाट पठाइने क्यूआर कोडमार्फत प्रयोगकर्तालाई झुक्याउने, नक्कली वेबसाइटमा लगेर व्यक्तिगत तथा बैंकिङ विवरण चोरी गर्ने घटना बढ्दो क्रममा रहेका छन्।

सन्देशमार्फत प्रहरीले ‘नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्नुहोस्’ भन्दै स्पष्ट चेतावनी दिएको छ। साथै, आफूसँगै परिवारका सदस्यहरूलाई समेत यसबारे जानकारी दिन र कुनै पनि क्यूआर कोड स्क्यान गर्नु अघि त्यसको स्रोत अनिवार्य रूपमा पुष्टि गर्न आग्रह गरिएको छ।

सूचना प्रविधि विज्ञहरूका अनुसार क्यूआर कोड स्क्यान गर्दा मोबाइलमा हानिकारक लिंक खुल्ने, डेटा चोरी हुने वा आर्थिक क्षति हुने जोखिम रहन्छ। त्यसैले डिजिटल माध्यम प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ।

अप्रिल फूलको बहानामा गरिएको नेपाल प्रहरीको यो अभियानले मनोरञ्जनसँगै गम्भीर सन्देश दिँदै साइबर सुरक्षाप्रति सचेत हुन आवश्यक रहेको पुनः स्मरण गराएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077