काठमाडौं । नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी जवान पदका लागि ठूलो संख्यामा भर्ना खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार यसअघि आह्वान गरिएको विज्ञापनमा १ हजार ३७५ पद थप गरिएको छ । अब कुल २ हजार ९ सय २८ जना प्रहरी जवान पदपूर्ति गरिने भएको छ ।
यसअघि गत असोज १० गते प्रकाशित विज्ञापनमा १ हजार ५५३ जनाको मात्र माग गरिएको थियो । तर पछिल्लो समय थप दरबन्दी रिक्त भएपछि खुला तथा समावेशी दुवै समूहमा पद संख्या बढाइएको प्रहरीले जनाएको छ ।
नयाँ विवरण अनुसार अब खुला प्रतियोगिताबाट १ हजार ५ सय ७८ जनाको भर्ना लिइनेछ भने समावेशीतर्फ अमर तथा अशक्त प्रहरी परिवारका लागि ५८, महिलाका लागि २५९, आदिवासी जनजातिका लागि ४१३, मधेसीका लागि ३६१, दलितका लागि १९४ र पिछडिएको क्षेत्रका लागि ६५ जनाको कोटा निर्धारण गरिएको छ ।
