एजेन्सी। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ ।
एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उनले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइबारे छलफल हुने संकेत गरेका छन् ।
दक्षिणी लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहनु र इरानले पूर्वसर्तहरू अघि सार्नुले पाकिस्तानले मध्यस्थता गरेको युद्धविरामलाई कमजोर बनाउने जोखिम देखिएको छ ।
वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ ।
इरानी र अमेरिकी प्रतिनिधिमण्डलको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिने भएका छन् ।
दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् ।
वासिङ्टनबाट इस्लामाबादतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले भान्सलाई शुभकामना दिँदै इरान सैन्य रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गरे । भान्सले पनि वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्, तर आवश्यक परे कडा अडान अपनाइने चेतावनी दिएका छन्।
गत साता ट्रम्पले इरानप्रति अत्यन्तै कडा र विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले आज राति नै इरानको “पूरै सभ्यता समाप्त हुन सक्ने” चेतावनी दिएका थिए ।
त्यसपछि पाकिस्तानका प्रधानमन्त्री सहबाज र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको थियो ।
सोहि सन्र्दभमा आज इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा निर्णायक वार्ता हुन् लागेको हो।
वार्ताका लागि इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहित इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अमेरिकी प्रतिनिधिमण्डलमा को नेतृत्व उपराष्ट्रपति भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुने अनुमान छ।
यसैबीच, इजरायल र लेबनानबीच पनि प्रत्यक्ष वार्ताको तयारी भइरहेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनको कार्यालयका अनुसार उक्त वार्ता अमेरिकी राजधानीमा सुरु हुने अपेक्षा गरिएको छ । बेरुतले इजरायलसँग प्रत्यक्ष संवाद गर्न तत्परता देखाए पनि त्यसलाई इरानसँगको जस्तै युद्धविरामको ढाँचामा अघि बढाउन चाहेको छ ।
तर इजरायलले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही नरोकिने अडान लिँदा सहमति प्रक्रिया थप जटिल बनेको छ । हिजबुल्लाह इरानको समर्थनमा युद्धमा संलग्न भएको हो । युद्धविराम घोषणा भएकै दिन बेरुतमा इजरायली हवाई आक्रमण हुँदा ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वयताकै सबैभन्दा ठूलो क्षति हो ।
अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट
पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।
जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ। इरानमा सबैभन्दा बढि बालबालिका र आम नागरिकसहित ३,५१९ जना, दोस्रो लेबननमा १,३१८ जना, इराकमा १०७ जना, इजरायलमा १९ जना, अमेरिकामा १३ जना, संयुक्त अरब इमिरेट्स ९यूएई० मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।
एकातिर विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प रहँदा विश्वव्यापी चिन्तन बढेको छ।इरानले यो जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो असर परेको छ ।
तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने विश्व अर्थतन्त्रमा दबाब सिर्जना भएको छ । युद्धअघि दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्ने उक्त मार्गबाट अहिले अत्यन्तै कम जहाज मात्र गुज्रिरहेका छन् ।