काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिका लागि भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधि सभामा संख्यात्मक रूपमा प्रमुख स्थानमा रहेको रास्वपाले लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने सहमति र विभिन्न विपक्षी दलहरुले पनि समर्थन गर्ने समझदारी बनेसंगै नेपाली काँग्रेसले उक्त समितिको नेतृत्वका लागि अघि सार्ने निर्णय गरेको थियो ।
सोही आधारमा खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
संसदीय समितिका सभापतिहरूका लागि तय गरिएको कार्यतालिका अनुसार आज मनोनयन प्रक्रिया सम्पन्न भइरहेको छ ।
शुक्रबार समितिको सभापतिका लागि नेतृत्व चयन हुनेछ ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।
यसैगरी रास्वपाले अन्य समितिहरूको नेतृत्वमा आफ्ना उम्मेदवार अघि बढाउने निर्णय गरेको छ ।