काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरस्थित टोलीले पेस्तोल, गोली तथा ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कविर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन् ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट एक थान पेस्तोल, सोही पेस्तोलका तीन थान म्याग्जिन, चार राउन्ड गोली, एसएलआर हतियारका दुई राउन्ड गोली तथा नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७५० ट्याब्लेट बरामद गरिएको उनले बताए ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।