काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् ।
बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र विस्थापितहरूको अवस्था बुझ्न आज साम्पाङ नेतृत्वको टोलीसहित त्यहाँ पुगेका हुन् ।
निरीक्षणका क्रममा उनले सरकारी कारबाहीबाट प्रभावित भएका स्थानीयहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गरेका छन् ।
उनले भने- 'सुकुम्बासीलाई विस्थापित गर्नु हुँदैन । उहाँहरू पनि नेपाली नागरिक हुनुहुन्छ । यो देश गरिबको पनि हो । गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैन । गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।'
अनधिकृत संरचना भत्काइएपछि सो क्षेत्रका बासिन्दाहरूले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन् । सोही सन्दर्भमा साम्पाङको टोलीले बस्तीको वस्तुस्थिति अध्ययन गरेको र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि कस्तो कदम चाल्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । निरीक्षणका क्रममा अध्यक्ष साम्पाङले विकास र व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउँदा उनीहरूको उचित विकल्प र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने धारणा राखेका छन् ।