काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति कडा असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री कार्यालय अगाडि पत्रकारलाई तस्बिर तथा भिडियो खिच्न रोक लगाइएको विषयलाई लिएर उनले सरकारको कदममाथि गम्भीर प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले पत्रकारलाई निषेध गर्नुको उद्देश्य के हो भन्दै प्रश्न गरेका छन् । 'बालेन जी... पत्रकारलाई निषेध गरेर के गर्न खोजेको ? चुपचाप डोजर सरकार यस्तै हो त ?' उनले प्रश्न गरे ।
उनले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने स्पष्ट पारे। 'स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लाउनु लोकतन्त्रको मूल्य अनुरुप होइन ,' उनले लेखेका छन् ।