काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने बताएका छन्।
आज नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो भनेका हुन् ।
आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटमा निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाए।
उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे।
उनले भने- 'सरकारको स्रोत सीमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्रलाई विस्तार गर्छ । आर्थिक प्रगतिमा बाधक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको छ । त्यसैगरी, राजस्व प्रशासन सुधार गर्दै कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने छ।'
उनका अनुसार सरकारको खर्च जीडिपीको करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ।
मन्त्री वाग्लेले सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप नीतिहरू अघि बढाउने बताए।