Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामान्य रिसिइबीको भयावह अन्त्य : सिरहामा भारतीय सुटरमार्फत दुई जनाको हत्या, सुपारी दिने पक्राउ

सामान्य रिसिइबीको भयावह अन्त्य : सिरहामा भारतीय सुटरमार्फत दुई जनाको हत्या, सुपारी दिने पक्राउ

सोमवार , बैशाख २८, २०८३

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै हत्या घटनामा सामान्य विवादको बदला लिन भारतीय सुटर प्रयोग गरिएको तथ्य खुलेको छ ।

प्रहरीले दुई जनालाई पक्राउ गर्दै दुवै घटनामा भारतीय अपराधिक गिरोहलाई सुपारी दिइएको पुष्टि गरेको हो।

पहिलो घटना सिरहा नगरपालिका–१ का ४२ वर्षीय प्रमेन्नाथ यादवको हत्या हो। गत माघ १६ गते आफ्नै खेत जोतिरहेका बेला उनलाई सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोलाको किनारमा अज्ञात हतियारधारीले गोली हानी हत्या गरेका थिए। घटनास्थलमै यादवको मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानअनुसार मृतक प्रमेन्नाथ र स्थानीय ५२ वर्षीय उपेन्द्र यादवबीच चार वर्षदेखि व्यक्तिगत रिसिइबी चलिरहेको थियो।

सोही रिसिइबीको बदला लिन उपेन्द्रले भारतीय अपराधिक गिरोहसँग तीन लाख रुपैयाँमा हत्या गराउने ‘डिल’ गरेको खुलेको छ।

प्रहरीका अनुसार उपेन्द्रले अग्रिम रकमस्वरूप एक लाख रुपैयाँ दिएको र त्यसपछि भारतीय सुटरले आएर प्रमेन्नाथको हत्या गरेको पाइएको छ। तर सम्झौताअनुसारको बाँकी दुई लाख रुपैयाँ भने अझै भुक्तानी नभएको अनुसन्धानबाट खुलेको छ।

उपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।

यस्तै दोस्रो घटना औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरका पुजारी ५५ वर्षीय श्यामसुन्दर शर्माको हत्या हो। २०८२ माघ ४ गते राति मन्दिरभित्र चुकुल लगाएर सुतेका अवस्थामा उनलाई टाउको पछाडिबाट गोली हानी हत्या गरिएको थियो।

अनुसन्धानका क्रममा स्थानीय ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसिइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ सुपारी दिएर पुजारी शर्माको हत्या गराएको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालका अनुसार दुवै घटनामा संलग्न भारतीय गिरोह र सुटरको पहिचान भइसकेको छ।

तर उनीहरू भारततर्फ लुकेर बसेकाले पक्राउ गर्न समय लागिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077