'सहकारी ठगीको मुद्दा मात्रै चल्ने'
कास्की । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अनुमति दिएको छ।
शुक्रबार जिल्ला कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहितका व्यक्तिविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अरु मुद्दा फिर्ता लिन अनुमति दिएको हो।
गोरखा मिडिया नेटवर्कमका अध्यक्ष जिवी राई, सञ्चालक छविलाल जोशीसहित लामिछानेविरुद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधीवक्ता सविता भण्डारीको निर्णयका आधारमा फिर्ता भएको हो।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाअनावश्यक भएको भन्दै अभियोग संसोधन गर्ने निर्णय गरेको थियो । त्यसका लागि जिल्ला सरकारी वकिल कार्यालयले कास्कीले लामिछाने सहितका दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।
त्यस निवेदनमाथि न्यायाधीश बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो।
प्रतिवादीहरूको मिलापत्र हुने तथा जाहेरवालाहरूको बिगोसहितको रकम सहज रुपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्ने भएकाले ठगी मुद्दा कायम राखेर अन्य मुद्दा फिर्ता लिइएको अदालतको आदेशमा उल्लेख छ।
सहकारी ठगी सम्बन्धी कसुरलाई भने यथावत राख्ने आदेश भएको छ ।