एजेन्सी । अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई हमला गरेको छ । इरानी क्षेप्यास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिच्छाउन लागेका डुङ्गालाई लक्षित गरी उक्त आक्रमण गरिएको हो ।
अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षा का लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालिएको स्पष्ट पारिएको छ ।
सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भनेका छन्, ‘जारी युद्धविरामका बेला अमेरिकी सेनाले संयमता अपनाउँदै आफ्ना फौजको रक्षा गरिरहेको छ ।’
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्कालै भइहाल्ने सम्भावना नरहेको बताएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार प्रवक्ता हकिन्सले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज मार्गमा अवस्थित इरानी नौसैनिक बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकैको क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको हो ।