काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्मा प्रस्तुत हुँदैछ । डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीको हैसियतमा पहिलोपटक संघीय बजेट प्रस्तुत गर्न लागेका हुन् ।
संघीय संसद् सचिवालयका अनुसार नयाँ संविधान जारी भएयता कायम प्रचलनअनुसार जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था अनुरूप आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गरिने कार्यक्रम तय गरिएको छ।
अर्थ मन्त्रालयले बजेट निर्माणमा रास्वपाको निर्वाचन वाचापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको जनाएको छ।
सरकारले यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ। आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय बजेटका मुख्य प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ निर्धारण गरेको छ। सोही सीमाभित्र रहेर सरकारले राजस्व व्यवस्थापन, विकास निर्माण, सामाजिक सुरक्षा तथा आर्थिक पुनरुत्थानलाई केन्द्रमा राख्दै बजेट ल्याउने तयारी गरेको जनाइएको छ।