काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको बताएका छन्।
शनिबार कार्यविभाजनसहित जारी अन्तर पार्टी निर्देशन (अपानि)मा लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरुलाई सिध्याउने षडयन्त्र भइरहेको उल्लेख गरेका छन्।
'नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ,' अपानिमा उल्लेख गरिएको छ ।
जेन्जी आन्दोलनपछि प्रतिगमनतर्फ बढेको मुलुकलाई लयमा फर्काउन एमालेले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढाएको भएपनि अरु दलहरुले साथ नदिएकाले चुनावमा भाग लिनु बाध्य भएको प्रष्टोक्ति ओलीले दिएका छन् ।
'प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधा नर लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनस्थाृपना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो,' अपानिमा उल्लेख गरिएको छ ।
साथै नवगठित सरकारका गतिविधिले नेपालको भौगोलिक अखण्डतामाथि नै संकट उत्पन्न हुन सक्ने भन्दै ओलीले संविधान र लोकतन्त्रको रक्षा अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।