Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, भन्यो – राष्ट्रिय हितविपरीत र तथ्यहीन

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, भन्यो – राष्ट्रिय हितविपरीत र तथ्यहीन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीले संघीय संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

एमालेले उक्त भनाइलाई गैरजिम्मेवार, तथ्यहीन तथा राष्ट्रिय हितविपरीत रहेको ठहर गर्दै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट संसद्को रोस्ट्रममा उभिएर “नेपालले पनि अरूको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति आउनु अत्यन्तै खेदजनक भएको बताएका छन्।

आचार्यले नेपालको भूमि अतिक्रमणको विषय ऐतिहासिक दस्ताबेज, आधिकारिक नक्सा तथा विभिन्न तथ्यहरूले स्पष्ट रूपमा पुष्टि गरिसकेको अवस्थामा प्रधानमन्त्रीको भनाइले अनावश्यक भ्रम सिर्जना गरेको आरोप लगाए।

उनका अनुसार आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात हो।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सीमा तथा इतिहाससम्बन्धी अध्ययन–अनुसन्धानमा संलग्न विज्ञहरू र आम नेपाली जनताको भावनामाथि चोट पुगेको जनाएको छ।

राष्ट्रिय स्वाधीनता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको धारणा अपरिपक्व र भ्रमपूर्ण रहेको पार्टीको निष्कर्ष छ।

पार्टीले प्रधानमन्त्रीको भनाइ सच्याउन तथा सरकारको आधिकारिक धारणा संसद् र आम जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न माग गरेको छ।

साथै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा कुनै पनि प्रकारको अस्पष्टता वा सम्झौता स्वीकार्य नहुने एमालेले स्पष्ट गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077