काठमाडौं । नेपाली कांग्रेसले संगठन विस्तार र नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यसहित देश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता खुला गरेको छ।
सोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने निर्णय गर्दै नयाँ सदस्यता अभियान सुरु गर्ने घोषणा गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको थियो।
कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासनप्रति पूर्ण प्रतिबद्धता जनाउने कुनै पनि नेपाली नागरिकले अब पार्टीको क्रियाशील सदस्यताका लागि आवेदन दिन सक्नेछन्।
नयाँ व्यवस्थाअनुसार सदस्यता लिन इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फारम भर्न सक्नेछन्। यसले सदस्यता वितरण प्रक्रियालाई सरल, छिटो र पहुँचयोग्य बनाउने विश्वास पार्टीले लिएको छ।
कांग्रेसले विगतमा सदस्यता वितरणका क्रममा देखिएका प्रशासनिक जटिलता, ढिलासुस्ती र पहुँचसम्बन्धी समस्यालाई हटाउन डिजिटल प्रणाली अपनाएको जनाएको छ। विशेषगरी विदेशमा रहेका नेपाली र प्रविधिसँग अभ्यस्त युवा पुस्तालाई पार्टीसँग जोड्न यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ।