काठमाडौं । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गम्भीर जलनपीडित गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत लैजाने सरकारी निर्णय चिकित्सकहरूको सुझावपछि स्थगित गरिएको छ ।
सुरुआती चिकित्सकीय सिफारिसका आधारमा सरकारले उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा पठाउने सम्पूर्ण तयारी पूरा गरेको थियो ।
हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था मिलाइएको थियो भने उनलाई समयमै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङको निर्देशनमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरिएको थियो । सरकारले उनको सम्पूर्ण उपचार खर्च पनि राज्यकोषबाट व्यहोर्ने घोषणा गरेको थियो ।
तर, हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था थप जटिल र अस्थिर बनेपछि चिकित्सकहरूले अहिलेको अवस्थामा विदेश लैजानु जोखिमपूर्ण हुने निष्कर्ष निकालेका छन् ।
यस्तो अवस्थामा स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने चिकित्सकहरूको सुझाव रहेको छ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेषज्ञ टोली उनको उपचारमा निरन्तर खटिएको छ।